Nepali Department

Nepali Department Department of Nepali
Nar Bahadur Bhandari Degree College, Tadong, Gangtok, Sikkim 737102

१३ मार्च २०२० मा सम्पन्न अन्तर्विभागीय लोकनृत्य प्रतियोगितामा उपविजेता (दोस्रो) बन्न सफल नेपाली विभागका विद्यार्थी।
26/07/2020

१३ मार्च २०२० मा सम्पन्न अन्तर्विभागीय लोकनृत्य प्रतियोगितामा उपविजेता (दोस्रो) बन्न सफल नेपाली विभागका विद्यार्थी।

10/07/2020

Department of Nepali
Nar Bahadur Bhandari Degree College, Tadong
Study Mattarials No 14
Date : 10 JULY, 2020
for BA II Semester
By. Dr. Parasmani Dangal, Asst. Prof, Nepali

उपन्यासकार गोविन्दबहादुर मल्ल ‘गोठाले’-को परिचय
उपन्यासकार गोविन्दबहादुर मल्ल ‘गोठाले’-को जन्म १३ जुलाई, १९२२ (वि. सं. १९७९ असार २९ गते) ओमबहाल, काठमाडौमा भएको थियो। उनका बाबु सुब्बा ऋद्धिबहादुर मल्ल र आमा आनन्दमाया हुन्। शारदाका प्रकाशक/सम्पादक उनका पिता ऋद्धिबहादुर भाषासेवी थिए भने दाजु विजय मल्ल ठूला साहित्यकार थिए। उनले आई.एस्सी. सम्म पढे। नीजि व्यवसायमा संलग्न रहे।
कवि सिद्धिचरण श्रेष्ठ, गोपालप्रसाद रिमाल, लक्ष्मीप्रसाद देवकोटा लगायतसँग उठ्बस गर्न भ्याएका गोठाले नाटक, कथा र उपन्यास गरि तीन विधाका पहिलो आधुनिक प्रयोक्ता थिए। गोठालेले साहित्यिक पत्रिका ‘शारदा’को सम्पादक भएर समेत काम गरे । उनको साहित्यिक नाम गोविन्दबहादुर मल्ल ‘गोठाले’ हो । उनले सिद्धिचरणबाट लेख्ने, रिमालबाट आधुनिक बन्ने र देवकोटाबाट लगनशील बन्ने प्रेरणा पाएका हुन् । उनले कथा, उपन्यास र नाटकका क्षेत्रमा ख्याति प्राप्त गरेका छन् ।
उनले सन् १९३५ तिरै लेखेको 'ममता' शीर्षकको कविता उनको पहिलो रचना हो। गोठालेद्वारा सन् १९५९ सालमा लेखिएको ‘पल्लो घरको झ्याल’ उपन्यासले अत्यधिक लोकप्रियता पाएको थियो। कथा, उपन्यास, नाटक आदिमा कलम चलाएका मल्लका कृतिहरू यस प्रकारका छन्:-
कथा सङ्ग्रह (कथा सङ्ग्रह), सन् १९५३
भुसको आगो (नाटक), सन् १९५६
पल्लो घरको झ्याल (उपन्यास), सन् १९५९
कथैकथा (कथा सङ्ग्रह), सन् १९५९
च्यातिएको पर्दा (नाटक), सन् १९५९
दोष कसको छैन (नाटक), सन् १९७०
भोको घर (नाटक), सन् १९३५
प्रेम र मृत्यू (कथा सङ्ग्रह), सन् १९८२
बाह्रकथा (कथा सङ्ग्रह) सन् १९९५
अपर्णा (उपन्यास), सन् १९९६
पियानानी (उपन्यास) सन् १९९९
नेपाली भाषा-साहित्यका विविध विधामा खास गरि कथा, नाटक र उपन्यासमा पाँच दशकभन्दा बढी समयदेखि उच्च दर्जाका कृतिहरूको सिर्जना गरी नेपाली वाङ्मयको श्रीवृद्धिका लागि उल्लेखनीय योगदान गरेबापत उनले निम्नलिखित पुरस्कारहरूले सम्मानित हुने गौरव प्राप्त गरेका छन्-
गोरखा दक्षिण बाहु दोस्रा
त्रिभुवन प्रज्ञा पुरस्कार
भवानी साहित्यिक पत्रकारिता पुरस्कार
वेदनिधि पुरस्कार
सर्वश्रेष्ठ रचना पुरस्कार
पहलमानसिंह स्वाँर पुरस्कार
सर्वश्रेष्ठ पाण्डुलिपि पुरस्कार
जगदम्बाश्री पुरस्कार
नेपाली साहित्यमा कथा, नाटक र उपन्यास विधामा अतुलनीय योगदान दिने उपन्यासकार गोविन्दबहादुर मल्ल ‘गोठाले’-को १३ दिसम्बर, २०१० का दिन ८९ वर्षको उमेरमा निधन भयो।

03/07/2020

Department of Nepali
Nar Bahadur Bhandari Degree College, Tadong
Study Mattarials No 13
Date : 3 JULY, 2020
for BA II Semester
By. Dr. Parasmani Dangal, Asst. Prof, Nepali

कथाकार सानु लामा र उनको ‘स्वास्नीमान्छे’ कथा
0 सानु लामाको परिचय
कथाकार सानु लामाको जन्म १५ जून, १९३९-मा गान्तोकमा भएको थियो। नेपाली साहित्यमा सानु लामा नामले परिचित अनि लोकप्रिय कथाकारका रूपमा चिनिएका लामाको वास्तविक नाम गरूडसिंह लामा हो। तर नेपाली साहित्य उनी सानु लामा नामले चिनिन्छन्। पेशागत रूपमा इञ्जिनियर भए तापनि सानु लामाले साहित्य र समाजलाई राम्रोसँग चिनेका छन्। उनको लेखनकला कतिसम्म माझिएको छ भने कुनै पनि पाठकलाई उनको लेखनले आकर्षित गर्न सक्दछ। मूल रूपमा कथाकारका रूपमा स्थापित सानु लामा गीतकार पनि हुन्। नेपाली साहित्ममा भानु पुरस्कार, साहित्य अकादेमी पुरस्कार र भारत सरकारको नागरिक सम्मान पद्मश्रीले विभूषित लामा सरल र मिलनशील व्यक्तित्वका धनी हुन्।
उनका प्रकाशित कृतिहरू हुन्-
१. ‘कथासम्पद’ (कथा सङ्ग्रह) सन् १९७४
२. ‘सानु लामाका लघुकथा’ (कथा सङ्ग्रह) सन् १९८१
३. ‘मृगतृष्णा’ (कथा सङ्ग्रह), सन् १९९०
४. ‘हिमालचुली मन्तिर’ (अनुभवन्यास), सन् १९९८
५. ‘जहाँ बग्छ टिस्टा रङ्गीत’ (गीत सङ्ग्रह), सन् २०००
६. ‘आँगन परतिर’ (अनुभवन्यास), सन् २००१
७. ‘सूर्यको तेस्रो किरण’ (कथा सङ्ग्रह), सन् २००८

नेपाली साहित्य परिषद्, सिक्किमको अध्यक्ष, सिक्किम अकादेमीको अध्यक्ष रहिसकेका लामालाई ‘मृगतृष्णा’ कथा सङ्ग्रहका लागि साहित्य अकादमी पुरस्कार, ‘हिमालचुली मन्तिर’ अनुभवन्यासका लागि डा. शोभाकान्ति थेगिम लेप्चा स्मृति पुरस्कार प्राप्त भयो भने नेपाली साहित्यको दीर्घकाली योगदान दिए वापद भानु पुरस्कारले सम्मानित गरिएको हो। यसरी नै भारत सरकारले भाषा, साहित्य, शिक्षाका क्षेत्रमा लामाले दिएको योगदानको सम्मान गर्दै देशको चौथो ठूलो नागरिक सम्मान पद्मश्रीले सम्मानित गरिसकेको छ। यो सम्मानले विभूषित हुने सानु लामा पहिलो भारतीय नेपाली साहित्यकार हुन्।
नेपाली भाषालाई भारतको संविधानको आठौं अनुसूचीमा अन्तर्भूक्त गर्न भएको भाषा मान्यता आन्दोलनमा पनि सानु लामाको योगदान विशिष्ट रहेको छ।
० सानु लामाको ‘स्वास्नीमान्छे’ कथा
सानु लामाको ‘स्वास्नीमान्छे’ कथा पहिलो पल्ट सन् १९६३-मा दार्जिलिङबाट प्रकाशित हुने ‘दियालो’ पत्रिकामा प्रकाशित भएको थियो। उनी आफ्नो पहिलो प्रकाशित कथाबाट नै नेपाली साहित्यमा कथाकारका रूपमा परिचित हुन पुगे। उनलाई ‘स्वास्नीमान्छे’ कथाले नै एकजना स्थापित कथाकार बनाइदियो। पछि ‘स्वास्नीमान्छे’ कथा उनको पहिलो कथा सङ्ग्रह ‘कथासम्पद’को पहिलो कथा बनेर सङ्ग्रहित बन्न पुग्यो।
सानु लामा मूलतः सामाजिक यथार्थवादी धाराका कथाकार हुन्। यिनका कथामा ग्राम्य सिक्किमको माटोको सुगन्ध पाइन्छ। स-साना विषयलाई टिपेर कथाका रूपमा सरल र सुबोध भाषामा प्रस्तुत गर्न सानु लामा सिपालु देखिन्छन्। सिक्किमको कला, संस्कृति, जीवनशैली, रहनसहन, खानपान, भाषा-बोलीलाई टिपेर कथालाई जीवन्तता दिने सानु लामा एकजना सिद्धहस्त कथा शिल्पीका रूपमा चिनिन्छन्। उनका कथाहरूमा आञ्चालिकताको स्पर्श पाइन्छ। सानु लामा नारीप्रति आदर्श भाव राख्दछन्। आफ्ना कथाहरूमा उनले नारीको मान सम्मान गर्दै उनीहरूको आदर्शजीवन शैलीको चित्रण गरेका छन्। ‘स्वास्नीमान्छे’ यस्तै एउटा कथा हो।
‘स्वास्नीमान्छे’ कथाको पृष्ठभूमि सन् १९५० दशकको सिङ्ताम बजारको रहेको छ। सिङ्गताम बजारमा खटिखाने सर्वसाधारणको जीवन कथा ‘स्वास्नीमान्छे’ कथामा वर्णित छ। ठूलो कान्छो र ठूलीकान्छीको विवाह भर्खरै भएको अनि उनीहरू सिङ्गताममा श्रमिक काम गरेर जीवन धान्दै आएका छन्। ठूलीकान्छी केही रैसे स्वभावकी छ। ऊ गीत गाउन, नाच्न रूचाउँछे। तर आफ्नो पतिलाई औधी माया गर्छे, पवित्र प्रेम गर्दछे।
माघे मेलाको समय मिङ्गमाले बीच बजारमा हात समातेर ठूलीकान्छीलाई जबरजस्ती गर्दा ठूली कान्छीले चिरेको दाउराले मिङ्गमाको टाउको फुटाएर आफ्नो सुरक्षा गरेको घटनाले सानु लामाले नारीलाई आवश्यकता अनुसार शक्तिशाली बनेर आफ्नो रक्षा स्वयंले गर्न सक्नुपर्छ भन्ने सन्देश दिएको स्पष्ट बुझिन्छ। अझ नारीले आफ्नो र आफ्नो घर परिवारको मान सम्मान कसरी जोगाउछन् भन्ने कुरो ठूलीकान्छीले थानामा दिएको बयानले स्पष्ट गर्दछ-
‘सार्कीदाइसँग पिङबाट छुटेर म हतार-हतार घरतिर आउन लागेकी थिएँ, मिङमासँग भेट भयो। उ अलि-अलि मातेको थियो। उसले चिया खाउँ भन्यो र हामी त्यो दोकानमा पस्यौं। त्यहाँ मैले चिया रोटी खाएँ, उसले अझै रक्सी खायो। दोकानभित्र मिङमाले मेरो हात समात्न खोज्दै थियो तर म उठिहालें। मलाई डर-डर लाग्यो। बाहिर आएर उसले मलाई हातमा समातेर जबर्जस्ती तान्न थाल्यो।मलाई त्यसबेला रिस उठेको थिएन तर जब उसले ‘मसँग हिंड्, त्यस्तो मरन्च्यासे लोग्नेसँग बसेर के पाउँछस्?’ भनेपछि भने साँच्चै रिस उठ्यो र आफ्नो पनि बचाउ र मेरो लोग्नेको इज्जत बचाउन उसलाई मैले दोकानकै दाउरा ल्याएर हिर्काएँ...।’
यसरी ‘स्वास्नीमान्छे’ कथामा कथाकारले नारीमा नारीरूप देखाएका छन्। ठूली कान्छीको प्रत्येक स्वभाव र व्यवहार नारीका विभिन्न रूप हुन्। कथाकारले एउटी समय र परिस्थिति अनुरूप परिवर्तन भएर आफ्नो स्वत्व र स्वजनको हितमा कालीको रूप धारण गर्न सक्षम हुन्छन् भन्ने देखाएर नारीलाई सदैव मान सम्मान गर्न आग्रह गरेको बुझिन्छ। मिङमा जस्ता अनेकौं कुपात्र समाजमा रहेर नारीलाई सदैव कुदृष्टि राख्ने गरे तापनि यस्ता कुदृष्टिको नारी स्वयंले यथोचित उत्तर दिन सक्नुपर्छ भन्ने ‘स्वास्नीमान्छे’ कथाको मूल कथ्य रहेको छ।
स्थानीय बोलीलाई टिपेर प्रस्तुत गरिएको कथाको भाषा शैली सरल र सुबोध रहेको छ। पात्रहरूको बोलाईमा स्वभाविकता छ, जसले कथालाई सजीवता प्रदान गरेको छ। विषयवस्तुको उठान र प्रस्तुतिमा कथाकार सानु लामा एकजना सिद्धहस्त कथाकार सुनिश्चित हुन्छन् ‘स्वास्नीमान्छे’ कथामा।
० निष्कर्ष
सन् १९६० दशकदेखि कथा लेखनमा सक्रिय कथाकार सानु लामा एकजना सिद्धहस्त कथाकार हुन्। भानु पुरस्कार, साहित्य अकादेमी पुरस्कार र पद्मश्री सम्मानले विभूषित लामाका ‘कथासम्पद’, ‘सानु लामाका लघुकथा’, ‘मृगतृष्णा’ र ‘सूर्यको तेस्रो किरण’ गरी चारवटा कथासङ्ग्रह प्रकाशित छन्। सन् १९६३-मा प्रकाशित भएको ‘स्वास्नीमान्छे’ उनको पहिलो कथा हो। यस कथामा सानु लामाले नारीको कोमल र कठोर हृदयको चित्रण गर्दै ठूलीकान्छीले आफ्नो पवित्रता र लोग्नेको सम्मान बचाउन मिङमामाथि प्रहार गरेको घटनालाई रोचक तरिकाले प्रस्तुत गरेका छन्।

26/06/2020

Department of Nepali
Nar Bahadur Bhandari Degree College, Tadong
Study Mattarials No 12
Date : 26 JUNE, 2020
for BA II Semester
By. Dr. Parasmani Dangal, Asst. Prof, Nepali

नेपाली शुद्ध लेख्न सिकौं

नेपाली हाम्रो भाषा हो। हामी सबै नेपालीको साझा भाषा। आपसमा संवाद गर्न हामीलाई नेपाली भाषा नै चाहिन्छ। हाम्रो स्वाभाविक, प्राकृतिक अभिव्यक्ति नेपाली भाषामै हुन्छ। नेपालीमै लेखेर मात्र हामी नेपालीको मन छुन सक्छौं, बढीभन्दा बढी नेपालीसम्म पुग्न सक्छौं। त्यसैले नेपाली ठीकसँग लेख्न जान्नु जरूरी छ।
प्रश्न उठ्छ, नेपाली कसरी लेख्ने? जवाफ सजिलो छ– जसरी बोलिन्छ, त्यसरी। हामी भन्छौं– म पुस्तक पढ्छु। भाइ खेल्न नपाएर ठुस्केको छ। आफू पास भएको सुनेर बहिनी खुशीले नाची। यसैगरी लेख्ने। शब्दको क्रम नबिगार्ने। सबैले बुझ्ने, प्रचलित, सजिला शब्द प्रयोग गर्ने। एउटा वाक्यमा एउटा कुरा मात्र भन्ने। धेरै कुरा जोडेर वाक्य लामो नपार्ने। आफूलाई लागेको कुरा साथीलाई भनिरहेको छु भन्ठानेर लेख्ने। यसो गर्दा लेख्न सजिलो हुन्छ। लेखाइ सरल र स्वाभाविक हुन्छ। यसरी लेखेको धेरैले बुझ्छन्। त्यसले धेरैको मन छुन्छ। अनि के चाहियो?
कुनै पनि भाषा लेख्ता वा बोल्दा मूलतः दुई कुरामा ध्यान दिनुपर्छ– शब्द र वाक्य। हरेक शब्दको निश्चित अर्थ हुन्छ। त्यसैले आफूले प्रयोग गर्न लागेको शब्दको अर्थ के हो भन्नेबारे सबैभन्दा पहिले आफैं स्पष्ट हुनुपर्छ। अर्थ नै राम्ररी नबुझी शब्द प्रयोग गर्न हुँदैन। त्यसो गरियो भने कुरो बिग्रन्छ। शब्दको अर्थ थाहा छैन भने शब्दकोश हेर्ने गर्नुपर्छ। शब्दको प्रयोगमा प्रायः कस्ता खालका असावधानी र गल्ती हुन्छन् अनि तिनलाई कसरी सुधार्न सकिन्छ भन्नेबारे ‘शब्द’ खण्डमा बताइएको छ।
शब्दहरू मिलेर वाक्यको निर्माण हुन्छ। शब्दको अर्थ अवश्य हुन्छ तर वाक्यको अंग नबनेसम्म त्यो सक्रिय हुँदैन। ‘चरो’ मात्रैको पनि अर्थ छ, परन्तु त्यो निष्क्रिय छ। वाक्यमा उनिएपछि मात्र त्यसले भूमिका पाउँछ र सक्रिय हुन्छ। त्यो उड्न सक्छ, बस्न सक्छ, खस्न सक्छ, देखिन सक्छ, चिर्बिराउन सक्छ, आउन वा जान सक्छ, राम्रो वा नराम्रो हुन सक्छ, भेटिन सक्छ, हराउन सक्छ, मर्न वा मारिन सक्छ। शब्दलाई सामान्यतः नाम, सर्वनाम, विशेषण, अव्यय र क्रियाका रूपमा वर्गीकरण गर्ने गरिएको छ। विभक्ति आदिले तिनीहरूबीच सम्बन्ध कायम गर्छन्। क्रियाले वाक्यको मियोका रूपमा काम गर्छ; त्यसलाई केन्द्र बनाएर शब्दहरूले आआफ्नो भूमिका सम्हाल्छन्। भावना, कल्पना, विचार, विश्लेषण, सूचना– सबैको अभिव्यक्ति वाक्यबाटै हुन्छ। वाक्यमा प्रायः के–कस्ता कमजोरी हुन्छन् र तिनलाई कसरी सुधार्ने भन्नेबारे ‘वाक्य’ खण्डमा स्पष्ट पारिएको छ। यसै मेसोमा अनुच्छेदबारे पनि चर्चा गरिएको छ।
बोलेको शब्द सुनिन्छ भने लेखेको शब्द देखिन्छ, र पढिन्छ। लेखिने शब्दको निश्चित ढाँचा हुन्छ जसलाई हिज्जे भन्छन्। त्यस ढाँचाले शब्दको दृश्य रूप र व्यक्तित्व प्रकट गर्छ। हिज्जे बिग्रियो भने शब्दको व्यक्तित्व बिग्रन्छ र त्यो विरूप हुन्छ।
हामीले प्रयोग गर्ने शब्द शुद्ध त हुनैपर्छ, वाक्यमा त्यसको अर्थ र आशय ठीकसँग खुलेको पनि हुनुपर्छ। सँगसँगै लेखाइमा नेपालीपन, नेपाली पारा समेत झल्किनुपर्छ। हिजोआज हाम्रो भाषामा कृत्रिमता थपिंदै गएको छ जसले यसलाई बोधो, भद्दा र बिरानो बनाउँदै लगेको छ। ‘मादक पदार्थ सेवन गरेर सवारी साधन सञ्चालन नगरौं’ मा सबै शब्द नेपालीकै छन्, वाक्य र व्याकरण पनि मिलेकै छ तर यसमा नेपाली पारा छैन। त्यसैले यो बोधो, भद्दा र निष्प्राण छ। दिमागमा ठोकिन्छ तर मनसम्म पुग्दैन; पराईले पराईलाई भनेजस्तो लाग्छ। यसको सट्टा ‘जाँडरक्सी खाएर गाडी नहाँक्नोस्’ भन्ने हो भने त्यो तिक्खर, झरिलो र जीवन्त हुन्छ अनि सहजै मनसम्म पुग्छ। आफन्तले भनेजस्तो लाग्छ। किन भने यसमा नेपालीपन खुलेको छ, नेपाली पारा झल्केको छ। हाम्रा वाक्य सरल, सहज र नेपाली पाराका हुन थालेपछि मात्र स्वादिला हुन्छन्; नेपाली मनमा बस्न र नेपाली जिब्रामा झुण्डिन थाल्छन्। त्यसवेला हाम्रो भाषाको रौनक नै अर्को हुनेछ।

अब हिज्जे सिकौं
अ. नाम अथवा संज्ञा
१. ह्रस्व इ, उ अन्त्यमा हुने शब्द—
क. सामान्य पुलिङ्गी शब्द । जस्तै— बाबु, दाइ, भाइ, दाजु, नाति, पनाति आदि ।
ख. सामान्य अप्राणिवाचक उकारान्त नपुंसकलिङ्गी शब्द । जस्तै— घिउ, भालु, गाउँ, हिउँ आदि ।
ग. नु, आउ, आइ कृत्प्रत्यय र आइ, याइँ तद्धित प्रत्यय लागी बनेका शब्द । जस्तै— हिंड्नु, जनाउ, पढाइ, गोलाइ, दुष्ट्याइँ आदि ।
अपवाद— दाईं, लडाईं, बसाईं आदि ।

२. दीर्घ ई, ऊ अन्त्यमा हुने शब्द—
क. सामान्य स्त्रीलिङ्गी शब्द । जस्तै— गाई, छोरी, दिदी, बहिनी, सासू, स्वास्‍नी, धोबिनी, पण्डित्‍नी, भुनी, माइजू, भाउजू आदि ।
ख. सामान्य अप्राणिवाचक इकारान्त नपुंसकलिङ्गी शब्द । जस्तै— कौसी, धुरी, क्वाँटी, खरानी, पानी, बानी, गाली, सिक्री, फर्सी, खैंजडी, हँस्यौली आदि ।
ग. मनुष्यको विशेष जात र पेशालाई बुझाउने शब्द । जस्तै— ज्यापू, हिन्दू, धोबी, घर्ती, नेपाली, ठकुरी, सिकर्मी, हलुवाई, सिपाही, काजी, मन्त्री, भाजू, गुभाजू आदि ।
घ. आदरार्थी ज्यू, जी प्रत्ययान्त शब्द । जस्तै— दाज्यू, भाउज्यू, पिताजी, शर्माजी, परियारजी आदि ।
ङ. भाव (धर्म), सम्बन्धी (धर्मी) र ‘त्यहाँ हुने’ अर्थ बुझाउने ‘ई’ तद्धित प्रत्यय लागी बनेका शब्द । जस्तै— गरीबी, नोकरी, चाकरी, खुनी, बैगुनी, इलमी, नेपाली, अछामी, जङ्गली आदि ।

आ. सर्वनाम
१. क. तपाईं, आफू, तँ, म, जो, त्यो आदि र तिनका विभक्तियुक्त रूप सर्वनाम हुन् । जस्तै— जो, जसले, जसलाई, जसबाट, जसदेखि, जसको, जसकी, जसमा, जुन, जे, जुनसुकै, जोसुकै, जेसुकै आदि ।
ख. सर्वनामबाट विशेष प्रत्यय लागी विभिन्न रूप बन्छन् । जस्तै— त्यो, त्यत्रो, त्यस्तो, त्यसरी, त्यस्तरी, त्यतिको, त्यहाँ, त्यहीं, तहिले, तब, तसर्थ आदि ।
२. सर्वनामको अन्त्यमा आउने इकार, उकार दीर्घ हुन्छन् । जस्तै— ऊ, ती, तिमी, हामी, यिनी, उनी, तिनी, आफू, कोही, केही, यही, त्यही, त्यहीं, कहीं आदि ।
विशेष : सर्वनामका त्यल्ले, त्यल्लाई, जल्ले, जल्लाई, कल्ले, कल्लाई, क्वै, क्यै, तैले, जैले, ऐले, उइले जस्ता संक्षिप्त रूप पनि हुन सक्छन् जसको प्रयोग अनौपचारिक लेखाइमा, कसैको कथन उद्धृत गर्दा र कवितामा छन्द मिलाउनका लागि हुन सक्छ । साथै त्यहाँ, यहाँ, उहाँ आदरार्थीमा पनि प्रयोग हुन्छन् ।

इ. विशेषण
१. क. स्त्रीलिङ्गका र दुवै लिङ्गमा हुने इकारान्त विशेषण दीर्घ हुन्छन् । जस्तै— काली, गोरी, राम्री, राजी, धनी, नामी, जाती आदि ।
ख. दुवै लिङ्गमा हुने उकारान्त विशेषण ह्रस्व हुन्छन् । जस्तै— दुधालु, घरेलु, मायालु, सिकारु आदि ।
२. सामान्य विशेषण प्रकरण हेरी ह्रस्व दीर्घ दुवै हुन्छन् । जस्तै— पिरो-पीरो, तितो-तीतो, अमिलो-अमीलो, अलिकति-अलीकति आदि ।
३. संख्यावाचक शब्दमा आउने इकार दीर्घ हुन्छन् । जस्तै— बीस, तीस, बत्तीस, चौंतीस, चालीस, त्रिचँलीस, बाईस, तेईस, उन्नाईस आदि ।
संख्याबोधक शब्दका अन्य रूप दुईवटा, दोटा, दुईटा-दुइटा, दुगुना, दोहोरो, दुईसरो, दुदुई, एकेक, लाखौं, करोडौं, लाखन्, करोडन्, कैयौं, कैयन् आदि हुन्छन् ।

ई. क्रियापद
१. धातुमा छ, छन्, छु, छौं, ए, एँ, यो, ई आदि प्रत्यय लागेर क्रियापदहरू बन्दछन् । जस्तै— बस्छ, बस्छन्, बस्छु, बस्छौं, बसे, बसें, बस्यो, बसी आदि ।
क्रियापदहरू उच्चारण अनुरूप लेखिन्छन् ।
२ विध्यर्थक क्रियापदको अन्त्यमा आउने इकार, उकार दीर्घ हुन्छन् । जस्तै— गर्नू, जानू, गरूँ, जाऊँ, आऊ, बचाऊ आदि ।
३. क्रियापदका स्त्रीलिङ्गी रूप जान्छे, गई, जान्छिन्, गइन्, जाली, जाउली, गइछ, गएकी थिई, गइथी, गइथ्यौ, जान्थ्यौ, गएकी थिएँ, जाँदै थिएँ आदि हुन्छन् । बहुवचन वा आदरमा भने पुलिङ्गका क्रियापद जस्तै हुन्छन् । जस्तै— गए, गएका थिए, गएथे≤ जानुहुन्छ, जानुभयो आदि ।
४. सकर्मक क्रियामा कर्मवाच्य र अकर्मक क्रियामा भाववाच्यको पनि प्रयोग हुन सक्छ । जस्तै— म पुस्तक पढ्छु-मबाट पुस्तक पढिन्छ । म मस्तसँग सुतें-आफू मस्तसँग सुतियो ।
५. क. धातुको अन्त्यमा वर्गको प्रथम वा द्वितीय अक्षर (क्, च्, ट्, त्, प्, ख, छ्, ठ्, थ्, फ्) वा स् रहेको छ भने त अथवा द विकल्पले जोडिन्छ । जस्तै— पाक्छ-पाक्तछ-पाक्दछ । जाँच्छ-जाँच्तछ-जाँच्दछ । राख्छ-राख्तछ-राख्दछ । हाँस्छ-हाँस्तछ-हाँस्दछ आदि ।
ख. अन्त्यमा अन्य अक्षर रहँदा भने द मात्र विकल्पले जोडिन्छ । जस्तै— माग्छ-माग्दछ । बुझ्छ-बुझ्दछ । हान्छ-हान्दछ । बोल्छ-बोल्दछ । रम्छ-रम्दछ आदि ।
ग. कतिपय धातुमा भने त वा द केही पनि जोडिंदैन । जस्तै— जान्छ, खान्छ, रुन्छ आदि ।
विशेष ः लिई, भई, भयो, खाँदैन, गरिदेऊ, भनिदेऊ, होऔं, होओस्, होउँला आदिका संक्षिप्त रूप ली, भै, भो, खान्न, गर्देउ, भन्देउ, ≈वौ, होस्, हुँला आदि पनि हुन सक्छन् । यिनको प्रयोग अनौपचारिक लेखाइमा, कसैको कथन उद्धृत गर्दा र कवितामा छन्द मिलाउनका लागि हुन सक्छ ।

उ. अव्यय
१. सामान्यतः अव्ययका अन्त्य इकार, उकार ह्रस्व हुन्छन् । जस्तै— माथि, मुनि, पट्टि, चाहिं, थरि, बाजि, चोटि, खालि, अघि, पछि, बरु, अनि, पनि, भोलि, पर्सि, निम्ति, खेरि, छिः आदि ।
२. ‘अरी’ प्रत्यय लागेका र यसको अर्थ दिने अव्यय दीर्घान्त हुन्छन् । जस्तै— राम्ररी, बेसरी, बराबरी≤ भकभकी, खलखली, ≈वाल≈वाल्ती आदि ।

ऊ. विशेष शब्दविचार
१. संस्कृतबाट जस्ताको तस्तै आएका (तत्सम) शब्द यथावत् लेखिन्छन् । जस्तै— श्री, गणेश, शक्ति, भक्ति, कीर्ति, शीतल, आकाश, रीति, नीति, समीप, शरीर, वीर, वर्षा, बुद्धि, बधू आदि ।
२. मूल शब्दका तद्भव वा वैकल्पिक रूप पनि हुन सक्छन् । जस्तै— गाउँ, खेत, भुइँ, सास, नाइके, रगत, आकाश÷अकास, वर्षा÷बर्खा, वास-बास, शीतल-सीतल आदि ।
३. अन्य भाषाबाट हाम्रो भाषामा जस्ताको तस्तै मिल्न आएका शब्द यथावत् लेखिन्छन् । जस्तै— जोश, होश, जीप, चीफ, शहीद, शिकार, जमीन, गरीब, शेयर, फेशन, शेक्सपियर, सीट, मार्कशीट, टीभी, सीडी, कानून, तूफान, भूल, छूट, स्कूल, कार्टून, जवाफ, रवाफ, मुताबिक आदि ।
४. अन्य भाषाबाट आएका शब्दका झर्रो नियम अनुसारका वा वैकल्पिक रूप पनि हुन सक्छन् । जस्तै— शिकार-सिकार, होश-होस, शेयर-सेयर, गरीब-गरिब, स्कूल-स्कुल, छूट-छुट, कानून-कानुन, कार्टून-कार्टुन, जवाफ-जबाफ आदि ।
५. झर्रोवादी आन्दोलनबाट स्थापित शब्द यथावत् लेखिन्छन् । जस्तै— अक्कास, सित्तल, अखानो, अगावै, अडेसो, अभेक, अहमत्याइँ, कस्केली, ग्रिसेली, उल्था, औतारी, कुहिरे, कुइरे, कैरन, कोकोहोलो, कोसेढुङ्गो, कोसदुएक, पपाँच, गोडादशेक, कौलासो, खटनपटन, खुरुन्धार, खैराँती, गनोट, गज्मौरो, गलहत्ती, गान्टिनु, जमर्को, घचारो, घुर्मैलो, अनजबाफ आदि ।
६. परम्परागत रूपमा शुरूमा दीर्घ लेखिंदै आएका तद्भव शब्द यथावत् लेखिन्छन् । जस्तै— खीर, कीरो, तीतो, मीठो, मीत, रीस, पीरो, पीठो, दूध, फूल, रूख, रूखो, बूढो, धूलो, ठूलो, पूरा आदि ।
७. नेपाली प्रत्यय लगाउँदा मूल शब्दमा रहेका वर्णहरूलाई नबिगारी लेखिन्छ । जस्तै— स्वीकार्नु, विश्वासिलो, पूर्वेली, पश्चिमेली, पुष्ट्याइँ, एकवर्षे, जोशिलो, बेहोशी, होशियार, खुशियाली, कानूनी, तुषारो, पोषिलो, विदेशिनु आदि ।
अपवाद : पुजारी, चिनियाँ, रिसाहा, मितेरी, सिपालु, जुनेली, दुधिलो आदि ।
८. क. संस्कृतबाट आएका तत्सम शब्दमा शिरविन्दुको सट्टा पञ्चम वर्ण लेखिन्छ । जस्तै— चञ्चल, घण्टा, दण्ड, सन्त, सन्दर्भ, शम्भु, सम्पादक, सम्बोधन आदि ।
ख. अनुस्वार पछि कवर्ग रहेको अवस्थामा भने वैकल्पिक रूपमा शिरविन्दु र पञ्चम वर्ण दुवै लेखिन्छ । जस्तै— अंक-अङ्क-अङ्‌क, शंख-शङ्ख, गंगा-गङ्गा-गङ्‌घा, संघ-सङ्घ-सङ्‌घ आदि ।
ग. य देखि ह सम्मका वर्ण (य, र, ल, व, श, ष, स, ह) भन्दा पहिले भने शिरविन्दु मात्र लेखिन्छ । जस्तै— संयम, संलग्न, संवाद, संविधान, संशय, संस्कृत, संस्कार, सिंह, संहार आदि ।
घ. अन्य भाषाबाट आएका, तद्भव र झर्रा शब्दमा शिरविन्दु दिइँदैन, उच्चारण अनुरूप पञ्चम वर्ण नै लेखिन्छ । जस्तै— हम्कनु, चम्किलो, चम्चा, गम्छा, सम्धी, सन्चो, बिसन्चो, लन्डन, टेन्डर आदि ।
अपवाद ः अंग्रेजी÷अङ्ग्रेजी आदि ।
९. क. डिकोभन्दा माथि मात्रा नभएको स्थितिमा चन्द्रविन्दु लेखिन्छ । जस्तै— तँ, कहाँ, जहाँ, यहाँ, गएँ, खाएँ, छायाँ, दायाँ, बायाँ आदि ।
ख. डिकोभन्दा माथि मात्रा वा रेफ भएको स्थितिमा भने चन्द्रविन्दुको सट्टा शिरविन्दु लेखिन्छ । जस्तै— भनें, गरें, बैंस, सधैं, ढोंग, मानौं, हजारौं, गर्छौं, झार्छौं, कहीं, त्यहीं, हिंड्नु, गिंड्नु, तपाईं, फर्कंदा, झर्कंदा आदि ।
१०. एउटै महाप्राण वर्ण दोहोरिएर आएमा एउटा अल्पप्राणमा परिणत हुन्छ । जस्तै— सक्खर, सुक्खा, नत्थी, पट्ठो आदि ।

ऋ. पदयोग, पदवियोग
१. समस्त शब्दहरू एउटै डिकोमा लेखिन्छन् । जस्तै— दाजुभाइ, दिदीबहिनी, घटीबढी, यथाशक्ति, छात्रावास, शुभकामना, गाईगोठ, उपसचिव, नीलकण्ठ, पीताम्बर, गोडधुवा, चरीनङ्ग्रे आदि ।
२. क. समास भएपछि पाँच अक्षरभन्दा बढी हुने स्थिति भएमा शब्दहरू छुट्याएर लेखिन्छन् । जस्तै— परराष्ट्र मन्त्री, प्रधान न्यायाधीश, शिष्ट परम्परा, इतिहास शिरोमणि, परराष्ट्र मन्त्रालय आदि ।
अपवाद— विश्वविद्यालय, महाविद्यालय आदि ।
ख. व्यक्तिवाचक नाम भने अभ्यास वा प्रचलन अनुरूप यथावत् लेखिन्छन् ।
३. एउटै काम जनाउने संयुक्त क्रियापद एउटै डिकोमा लेखिन्छन् । जस्तै— भनिसक्यो, गरिदियो, सुतिहाल्यो, आइपुग्यो, आइपुग्छ, खाइहेर्छ, जानुपर्छ, जानेछ, गएथ्यो, गर्दथ्यो, बस्तथी आदि ।
४. छुट्टाछुट्टै काम जनाउँदा क्रियापद छुट्याएर लेखिन्छन् । जस्तै— भनी सक्यो, गरी दियो, गएँ हुँला, खाई हेर्छ, जाने गर्छ, गरेको छ, भनेको छ, भनेको थियो आदि ।
विशेष ः कतिपय संयुक्त क्रियापदहरू एउटा काम जनाउँदा एउटै डिकोमा र छुट्टाछुट्टै काम जनाउँदा छुट्याएर लेखिन्छन् । जस्तै— हुनपुग्यो, हुनपुगें, बन्नपुगे≤ भन्न हुन्छ, गर्न सक्छ, खान सक्छ आदि ।
५. विभक्तिहरू शब्दसँग एउटै डिकोमा लेखिन्छन् । जस्तै— ले, लाई, द्वारा, बाट, देखि, को, का, की, मा आदि ।
६. विभक्तिवत् आउने नामयोगीहरू जोडेर वा छुट्याएर दुवै किसिमले लेख्न सकिन्छ । जस्तै— मुनि, माथि, बारे, भन्दा, सँग, वारि, पारि, भित्र, बाहिर, तिर, सित, तर्फ, सम्म आदि ।
७. उपर्युक्त बाहेक सबै नामयोगी र निपातहरू छुट्याएर लेखिन्छन् । जस्तै— मात्र, विना, बाहेक, समेत, अगाडि, पछाडि, सिवाय, मार्फत, समक्ष, अनुसार, अनुरूप, बराबर, लगायत, मुताबिक, बमोजिम, अन्तर्गत, वटा, जना, चाहिं, झैं, नै, जसरी, जस्तो, जस्तै, समान आदि ।

(प्रस्तुत सामग्रीको तयारी श्री शरद्चन्द्र बस्ती, गोपाल पाँडे असीम र हृदयचन्द्रसिंह प्रधान का पुस्तकहरूबाट विद्यार्थीहरूलाई सजिलो होस् भनेर गरिएको हो।)

यहाँ श्री चन्द्रसिंह श्रेष्ठले लेख्नु भएको कविताले पनि हामीलाई हिज्जे र शुद्धलेख्न सिकाउँछ।

संक्षिप्‍त नेपाली शुद्धाशुद्धि ज्ञान
(अनुष्‍टुप् छन्दमा)
चन्द्रसिंह श्रेष्ठ

पुरुष नामका अन्त्य लेखिन्छन् इ, उ ह्रस्व नै ।
जस्तै- भाइ, पनाति वा भिनाजु, बाबु ह्रस्व नै ।।१।।

नपुसंक लिंगीको अन्त्य उकार ह्रस्व हुन्छ है ।
जस्तै- आलु, पिंडालु वा गाउँको उ त ह्रस्व है ।।२।।

धातुका अन्त्यमा आउ, नु, आइ प्रत्यय भए ।
नामबाट बनेका भै आइ, याइँ अन्त्यमा भए ।।३।।

भाववाचक हुन्छन् ती अन्त्यमा इ, उ ह्रस्व भै ।
गर्नु-गराइ, दुष्ट्याइँ, सघाउनु-सघाउ झैँ ।।४।।

नपुंसक लिंगी शब्दैको अन्त्य ई दीर्घ लेख है ।
खरानी, पानी वा फर्सी, गाग्रीमा दीर्घ देख है ।।५।।

स्त्रीलिंगी शब्दका अन्त्य ई वा ऊ दीर्घ भैगए ।
बहिनी, सम्धिनी, गाई सासू, भाउजू, झैँ भए ।।६।।

पेशा र जातको अन्त्यमा हुन्छ दीर्घ ई, ऊ नै ।
जस्तै- नेपाली, ज्यापू, भो गुभाजू, घती, नाऊ नै ।।७।।

अन्त्यमा आदरार्थीका ज्यू वा जी प्रत्यय भए ।
दीर्घ हुन्छन् पिताजी झैँ मंत्रीज्यू, दाज्यू नै भए ।।८।।

तद्वित शब्दका भाव, सम्बन्धी तद्भव पनि ।
अन्त्यमा दीर्घ इ हुन्छ गरीबी, बैगुनी, खुनी ।।९।।

सर्वनाम सधैँ दीर्घ इ वा ऊ जे भए पनि ।
तपाईँ, आफू, ती, यी, ऊ मेरी, तेरी र कोही नि ।।१०।।

सर्वनामसँगै अर्को जोडे प्रत्यय शब्दमा ।
त्यो-बाट त्यस्तरी फेरि हुन्छ लौ त्यही दीर्घमा ।।११।।

विशेषण् प्रकरण् हेरी हुन्छन् ह्रस्व र दीर्घ नै ।
गुलीयो-गुलियो, मीठो वा मिठो ह्रस्व दीर्घ नै ।।१२।।

सानू, सानु, ठूलु, ठूलू, दुवै शुद्ध प्रयोग हुन् ।
प्यारमा भनिने सानो ठूलोका न यी रूप हुन् ।।१३।।

संख्याबोधकमा देख्छौँ आदि-मध्यान्त दीर्घ ई ।
तीन, बीस र पच्चीस, साठी, सत्तरी झैँ भई ।।१४।।

अन्त्यमा ई हुने स्त्री वा दुवै लिंग बुझाउने ।
गोरी, नामी, धनी, राम्री, जातीमा सब दीर्घ नै ।।१५।।

दुवै लिंग बुझाउने उ हुन्छ जब अन्त्यमा ।
ह्रस्व हुन्छ घरेलु वा दुधालु र सिकारुमा ।।१६।।

‘गरेर बक्सियो’ भन्दा लेखिन्छ गरी बक्सियो
‘गर्‍यो’को आदरार्थीमा भैहाल्छ गरिबक्सियो ।।१७।।

लेखी देऊ भने केही ‘लेखेर केही देऊ’ हो ।
लेखिदेऊ भनेदेखि ‘लेख्‍ने काम गरिदिनु’ हो ।।१८।।

लगातार बुझाएमा ह्रस्व वा दीर्घ हुने ।
बोलीरहन्छ वा बोलिरहन्छ दुईमा कुनै ।।१९।।

विध्यर्थ शब्दका अन्त्य ई वा ऊ हुन्छ दीर्घ नै ।
लेख्‍नु, आऊ, बसूँ, निक्ली, देखून्, होऔली, सप्री नै ।।२०।।

स्त्रीलिंगीका क्रिया अन्त्य हुन्छन् सदैव दीर्घ है ।
आउली, गरिथी, जाली, दिएकी थिई दीर्घ झैँ ।।२१।।

अव्यय शब्दका अन्त्य इकार र उकार छन् ।
ह्रस्व हुन्छन् अगि, पर्सि, निंति, कि, बरु छिः त झन् ।।२२।।

अरी प्रत्यय लागेर बन्ने अव्यय दीर्घ हो ।
जस्तै ‘राम्रो गरी’ बाट राम्ररी दीर्घ भैगयो ।।२३।।

अरी प्रत्ययको अर्थ दिने अव्यय दीर्घ हो ।
झलझल गरी बनाएमा झलझली दीर्घ नै भयो ।।२४।।

अर्को भाषा जब हाम्रो भाषामा मिल्न आउँछ ।
उही भाषाअनुसार तत्सम शब्द छाउँछ ।।२५।।

शक्ति, रीति, कति विन्दु, वीर, बूट, हजूरमा ।
खुशी, बुद्धि, मुताबिक यस्तै हुन्छ हुकूममा ।।२६।।

व को ब हुन्छ चल्तीमा श, ष को पनि हुन्छ स ।
वास-बास, शीतल्-सीतल, पोष-पोस त बन्दछ ।।२७।।

विभक्ति जतिका चिन्ह जोडेर लेख्‍नुपर्दछ ।
कृष्णले रामका घरमा मलाई भेट्नुपर्दछ ।।२८।।

भन्दा, चाहिं, पछि, माथि, विना इत्यादि शब्दमा ।
जोडिन्छ पद ऊमाथि, रामचाहिं, सीताविना ।।२९।।

जानेछ यसरी लेखे ‘जाला’ भन्ने बुझिन्छ नि ।
जाने छ भन्नु हो ‘कोही जानेवाला’ छ नै भनी ।।३०।।

विभक्ति चिन्ह लागेका शब्दभन्दा पछि कुनै ।
भन्दा, चाहिं, पछि, माथि आए लेख्‍नु अलग्ग नै ।।३१।।

छुट्टयाई लेख्‍नुपर्ने हो नै, जस्तो, पनि, ता, भने ।
कृष्ण जस्तो, हरि मात्र, ऊ नै, यसरी लेखिने ।।३२।।

19/06/2020

Department of Nepali
Nar Bahadur Bhandari Degree College, Tadong
Study Mattarials No 11
Date : 19 JUNE, 2020
for BA II Semester
By. Dr. Parasmani Dangal, Asst. Prof, Nepali

‘जुनेली रेखा’ सामाजिक यथार्थवादी उपन्यास
इन्द्र सुन्दासद्वारा सन् १९७९-मा लेखिएको दोस्रो उपन्यास हो ‘जुनेली रेखा’। ‘जुनेली रेखा’- सामाजिक यथार्थवादी धाराको एक सफल उपन्यास हो। समाजमा भइआएका, हुँदैआएका एवम् समसामयिक घटनाक्रमलाई ऐनाजस्तै जस्ताको त्यस्तै प्रस्तुत गर्नु सामाजिक यथार्थवादको धर्म हो। यसमा सामाजिक विषयवस्तु र घटनाक्रमलाई लिएर लेखकले आफ्नो कल्पनाशक्तिद्वारा जीवन्तता प्रदान गरेका हुन्छन्।
‘जुनेली रेखा’-उपन्यासमा लेखकले एकातिर अङ्रग्रेजकालीन भारतमा दार्जीलिङ पहाडका चियाबारी अर्थात् चियाकमानको जनजीवनलाई देखाएका छन्। यसका साथै उनले दार्जीलिङ नगरको जीवनलाई पनि चित्रण गरेका छन्। तत्कालीन समाजमा स्वास्थ्य सुविधाको अभाव, अशिक्षा, गरिबी, अङ्ग्रेज अफिसरहरूको अन्यायपूर्ण शासन व्यवस्था, आफ्नो कामवासना पूरा गर्न अङ्ग्रेज अधिकारीहरूले ‘छोकडी’ राख्ने परम्परा, चियाबारीबाट कसैलाई पनि ‘हट्टाबहार’ गरेर निकाल्न पाउने व्यवस्था, रगतमासी जस्ता साधारण रोग लागेर ज्यान नै जाने समस्या, थोरै आयमा श्रमिकहरूले घर परिवार धान्नु पर्ने अवस्था जस्ता विषयवस्तुलाई उपन्यासाकार इन्द्र सुन्दासले खुबै रोचक ढङ्गमा प्रस्तुत गरेका छन्।
‘जुनेली रेखा’ – उपन्यासमा जसे र मालिनीजस्ता पात्रका माध्यमद्वारा उपन्यासकारले निम्नवर्गीय मानिसको जीवन कति कष्टकर हुन्छ भन्ने देखाएका छन्। अर्कोतिर गाउँ समाजमा छोरी-चेलीमाथि बडा साहेबजस्ता कामपिपासु व्यक्तिको शिकार बन्ने सदैव डर र त्रास रहने कुराको उल्लेख गरेका छन्।
उपन्यासका सन्दर्भमा उपन्यासकार इन्द्र सुन्दास स्वयम्‌ले भनेका छन्- ‘यथार्थवादमा आधारित यो उपन्यासको पृष्ठभूमि छ। भारतअन्तर्गत टिस्टा नदीबाट पश्चिममा पर्ने विस्तृत चिया उपनिवेशको एउटा काल्पनिक पाटो एवम् अवधि पर्छ ब्रिटिशको बल्दो युग अर्थात् इण्डिया बनाम भारतवर्ष स्वतन्त्र हुनुभन्दा निकै वर्षअघि। यसउसले यस उपन्यासका दृश्यहरू छन् उहिलेका, अहिलेका होइनन्, अनि यसमा घटनाहरू जति छन्, ती आफ्नै कानले सुनेका, आफ्नै आँखाले देखेका, आफ्नै छातीले अनुभव गरेका, कुनै पनि असम्भव थिएन, सबै सम्भव थिए। यो ऐतिहासिक सत्य हो। केवल तिनलाई एकत्र पारेर सृजना गरेको यो कथा मात्र काल्पनिक हो।’
‘जुनेली रेखा’ आञ्चलिक उपन्यास
सन् १९७९ मा प्रकाशित इन्द्र सुन्दासको ‘जुनेली रेखा’ सामाजिक यथार्थवादी तथा आञ्चलिक उपन्यास हो। यस उपन्यासको कार्यपीठिका दार्जीलिङ अञ्चल रहेको छ। दार्जीलिङ पहाडी अञ्चलको यथार्थ कथालाई उपन्यासकाले त्यहाँको भाषा, संस्कृति, संस्कार, जीवनशैली, रहनसहन, जीविकोपार्जन, सामाजिक पृष्ठभूमि हुबहु प्रस्तुत गरेका छन्। वरिष्ठ समालोचक इन्द्रबहादुर राईले ‘आञ्चलिक लेखन यथार्थवाद कै भङ्गालो हो’ भनेर यसलाई यथार्थवादको शाखाका रूपमा स्वीकार गरेका छन्।
आञ्चलिक उपन्यास एउटा यस्तो उपन्यास हो जुन कुनै एक खास राष्ट्रको विशिष्ट भाग विशिष्ट क्षेत्रमाथि केन्द्रित रहन्छ र त्यस क्षेत्रको जीवनको कस्तो किसिमले चित्रण गर्दछ भने पाठकको ध्यान त्यस क्षेत्रको विशिष्टतातिर तानिन्छ र पाठकले सजिलै त्यो क्षेत्रलाई सजिलैसित हेर्न र बुझ्न सक्छ।
‘जुनेली रेखा’ उपन्यासमा उपन्यासकार इन्द्र सुन्दासले टिस्टानदी पश्चिमपट्टी पर्ने दार्जीलिङ पहाडको चियाबारी र नगरजीवनलाई प्रस्तुत गरेका छन्। उक्त क्षेत्रको सामाजिक, आर्थिक पृष्ठभूमिमा जन्मिएको ‘जुनेली रेखा’-को कथामा निम्नवर्गीय श्रमिकवर्गको करूणगाथा प्रस्तुत छ।
लेखकले चियाबारीमा बोलिने भाषाको प्रयोग गरेका छन्। त्यस्ता भाषाहरूमा केही उदाहरण यहाँ प्रस्तुत गरिन्छ-‘तल्लो धुरा’, ‘कमान’, ‘हिलमिल’, ‘दङ दङ गह्नाउनु’, ‘झाटझुटसित’, ‘छेमा’, ‘बैनी’, ‘तिमेरू’, ‘ढिब्री’, ‘भेज्यो’, ‘रच्छे’, ‘डेरची’, ‘चोचे’, ‘ठूलो खसी’, ‘काँ’, ‘याँ’, ‘छोकडी’, ‘हट्टाबहार’, ‘नियाँ’, ‘टुकी’, ‘घैंटो’, ‘बोलिपठाएँ’, ‘सिकुवा’, ‘कामदारी’, ‘राइटरबाबु’, ‘छिचोलेर’ आदि आदि।
‘जुनेली रेखा’ पात्रहरूको बोलीमा पनि आञ्चलिक भाषाको रङ्ग पाइन्छ। केही उदाहरण-
‘मलाई छेमा गर बैनी।’
‘आजु घाम डुब्नुको अगाडि कमान छोड्नु, मेरो फाइनल हुकूम।’
‘बोलबिन्ती सुन्ने होइन मनिजर, तरूनीले कान फुकिदिएपछि।’
‘मलाई तिम्रो छोरी बराबर सम्झ, बाबू। यस्तो कुरा एकदम नगर, मेरो रच्छे गरिदेऊ बरू, नत्र फाल हानेर मर्छु।’
यसरी हेर्दा एउटा आञ्चलिक उपन्यासले निर्वहन गर्नु पर्ने सम्पूर्ण तत्त्व ‘जुनेली रेखा’ उपन्यासले वहन गरेका कारण ‘जुनेली रेखा’ उपन्यासलाई एक सफल आञ्चलिक उपन्यास मान्न सकिन्छ।

‘जुनेली रेखा’ उपन्यासमा चियाबारी जीवन
सन् १९७९-मा प्रकाशित उपन्यासकार इन्द्र सुन्दासको दोस्रो उपन्यास हो ‘जुनेली रेखा’। सामाजिक यथार्थवादी धारामा लेखिएको ‘जुनेली रेखा’ उपन्यासले दार्जीलिङ पहाडको चियाकमान अर्थात् चियाबारी जीवनको सजीव चित्रण गरेको छ।
लेखकले दार्जीलिङ पहाडका चियाबारीहरूमा जीवन बिताउने रने र मालिनी जस्ता श्रमिकको करूणकथाद्वारा सम्पूर्ण चियाश्रमिकको कथा व्याथा प्रस्तुत गरेका छन्। अङ्रग्रेजकालीन चियाबारीमा अङ्रग्रेज म्यानेजरले छोकडी राखेर आफ्नो कामवासना पूरा गर्ने परम्परा चियाबारीहरूको लामोसम्म रहेको ऐतिहासिक तथ्य पाइन्छ। यसरी नै श्रमिकहरूलाई हट्टाबहार गरेर चियाकमानबाट बाहिर निकाल्ने अन्यायपूर्ण व्यव्स्था अङ्रग्रेजकालीन चियाबारीको कानुनी नियम रहेको थियो। ‘जुनेली रेखा’ यिनी व्यस्थाले बिथोलिएको जसे र मालतीको कथा हो।
यद्यपि उपन्यासकारले मेकी कमान र हेली कमानको जुन उल्लेख गरेका छन् ती कमान भने पहाडमा छैनन्। तर लेखकले कमानको काल्पनिक नाम प्रयोग गरेर वास्तवमा सम्पूर्ण चियाबारीको यथार्थको चित्रण गर्न खोजेका हुन्। यस सन्दर्भमा लेखकले भनेका – ‘यसमा सङ्केत गरिएका मेकी कमान, हेली कमान र सेती खोला मानचित्रमा खोजे पाइँदैनन्, ती काल्पनिक हुन्, तर मेकी कमानलाई उस बेलाका चिया कमानहरूको एउटा प्रतीक सम्झे किञ्चित त्रुटि हुनेछैन।’
उपन्यासकारले अझ भनेका छन्, ‘भारतअन्तर्गत टिस्टा नदीबाट पश्चिममा पर्ने विस्तृत चिया उपनिवेशको एउटा काल्पनिक पाटो एवम् अवधि पर्छ ब्रिटिशको बल्दो युग अर्थात् इण्डिया बनाम भारतवर्ष स्वतन्त्र हुनुभन्दा निकै वर्षअघि। यसउसले यस उपन्यासका दृश्यहरू छन् उहिलेका, अहिलेका होइनन्, अनि यसमा घटनाहरू जति छन्, ती आफ्नै कानले सुनेका, आफ्नै आँखाले देखेका, आफ्नै छातीले अनुभव गरेका, कुनै पनि असम्भव थिएन, सबै सम्भव थिए। यो ऐतिहासिक सत्य हो। केवल तिनलाई एकत्र पारेर सृजना गरेको यो कथा मात्र काल्पनिक हो।’
लेखकले चियाबारीको सोचनीय एवम् करूण परिवेशलाई ‘जुनेली रेखा’ -उपन्यासको ठाउँ ठाउँमा चित्रण गरेका छन्। केही उदाहरण –
‘चिया-कमानमा दवाई-पानीको, डाक्टर-नर्सको केही बन्दोबस्त थिएन। कमानहरूमा असंख्य सुत्केरीहरू अनि स्याहारसम्भार नपुगेका बन्दोबस्त थिएन। उ पनि त्यसरी मरी। सिपालु धाई वा सुँडेनीसम्म नपाइएको।’
‘बास्, कमानमा चैं एउटा कुइरेको खुशी खुशी, मनमानी। सुन्नु छैन, बुझ्नु छैन, तरुनी आइमेको कुरा सुन्यो, आँखै नहेरी सजाय दियो। एक दुइ दिन काम नदिए भैगो नि, एकैचोटि हट्टाबाहिर।’
‘चेतन जीव भए तापनि मूक पशु झैं निरीह भएर बस्नुपर्थ्यो, प्रतिवाद गर्न उनको आफ्नो बुद्धि पुग्दैनथ्यो, उनमा आँट हालिदिने व्यक्ति कमानभित्र कोही थिएन, बाहिरको कुनै अगुवा भित्र ढिम्कन पाउँदैनथ्यो। कमानवासी आफू-आफैं मुर्मुरिन्थे, आगो हुन्थे, आफूभित्र जमेको ग्यास उगेल्थे, बस, त्यति हो। सरसल्लाह गरौं, कुमेटी गरौं भने कताकताबाट कुरा छिरेर साहेबका कानमा पुगिहल्थ्यो अनि अघि सर्ने जतिले आँखाको कसिङ्गर भएर जीविका चलाउनु पर्थ्यो। सीमाना त्यहीँ बाँधिएको थियो। त्यो माइलखुट्टीभन्दा अघि बाटो देखा पर्दैनथ्यो, अनि पथप्रदर्शक कोही थिएन।’

निष्कर्ष
सन् १९७९-मा प्रकाशित इन्द्र सुन्दासको ‘जुनेली रेखा’ ऐतिहासिक पृष्ठभूमिमा लेखिएको सामाजिक यथार्थवादी उपन्यास हो । अङ्ग्रेज शासित भारतवर्ष अन्तर्गत टिस्टा नदीदेखि पश्चिमतिर दार्जीलिङ पहाडमा स्थित चियाबारीको जीवन कथा वर्णित ‘जुनेली रेखा’ एक सफल आञ्चलिक उपन्यास पनि हो। यसमा उपन्यासको कथा सन् १९२० देखि सन् १९४० बीचको रहेको छ। जसे, मालिनी र बडा साहेबजस्ता चरित्रले तत्कालीन चियाबारीका श्रमिक र मालिकपक्षको प्रतिनीधित्व गरेका छन्। छोकडी प्रथा, हट्टाबहार प्रथा जस्ता अङ्ग्रेजहरूको कालो कानुन र अन्यायपूर्ण शासन व्यवस्थाको यथार्थ चित्रण गरेको यस उपन्यासले जसे र मालिनीका माध्यमद्वारा सम्पूर्ण चियाबारीका श्रमिकहरूको कथा वर्णित गरेको छ।

Address

Sikkim Governmet College
Tadong
737102

Alerts

Be the first to know and let us send you an email when Nepali Department posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share